गुनासा नै गुनासाका चाङ्गबाट
एउटा गुनासो झिकेर,
आंखाभरि कल्पनाको स्वर्ग रचेर
आफ्नो स्वर्गे हजुबासंग
एकान्तमा भनें-
हजुरबा
यहां मेरो आंखाले केही पाएन,
मेरो आत्माले केही भेट्ाएन,
म जहां थिए त्यही छु,
म जस्तो थिएं त्यस्तै छु,
एक पाईला अघि बढ्न सकिन,
एक पित्को प्रगति गर्न सकिन
तुच्छ कांडा सम्झेर
दबाइदिने उदेश्यले
जिवनका फजितिहरु कुल्चिदिएको थिएं,
तर उर्जाशिल निर्दोष समय
फूल बनेर बसेको रहेछ,
पाप र पश्चातापले मुटु पोल्यो
तालका छालसिर
मेरो लक्ष्य हराईरह्यो,
कुन्नि के प्रेरणाले
फूल टिप्न खोजें
तर मुटुभरी कांडा बिझ्यो
कांडा त निकाले
बिष छाडेर गएछ,
बिझायो, चर्यायो, पोल्यो
हजुरबा साह्रै गाह्रो भयो ।
हजुरबा
यहां मेरा लागि केहि छैन,
मेरो लागि कोहि छैन,
मेरो मनमा
स्वार्थी चन्द्रमा उदाएन,
मेरो भावनामा
कुनै सूर्य पनि आएन,
झिल्मिलाउने कल्पना
मसंग नियासि्रन्छ,
तिर्मीराउने महत्वकांक्षा
पटक्कै रमाउदैन
मेरो आत्मा
उदासिनता तिर ढल्केको छ,
पराइ आत्मा संग हो या
परमात्मासंग पल्केको छ,
त्यसैले म आफूलाई
आफैसंग राख्न
नपिएको अमृतको
स्वाद चाख्न
विकल्प खोजिरहेछु ।
हजुरबा
तपाइ त
अनगिन्ती ताराहरुमा रमाउनुहुन्छ,
नक्षत्रमण्डलमा शासन गर्नुहुन्छ,
तपाइ र मेरो तुलना छैन
म त दरिद्र छु: माग्ने न हुं
तपाइ र म रगतको नाता थियौं
चाहे त्यसकै मसिले होस,
तपाइ र म भावनामा नजिक थियौं
चाहे त्यसकै कसीले होस,
एउटा बहाना बनाइदिनुहोस-
न पापी चन्द्र न स्वार्थी सूर्य
टिलपिलाउने तारा झारीदिनुहोस
म क्षितिजमा पर्खिरहुला………………
२०५६-३-१७
No comments:
Post a Comment